बा भएर बा लाई सम्झिदा!

दिपक पौडेल



मेरी चार बर्षकि छोरी अघि भर्खरै फोन गर्दै आधा नेपाली र आधा अङ्ग्रेजीमा "ह्यापी फादर्स डे बाबा" भनि अनि मैले भने "खै मलाइ के दिन्छौ?" उस्ले भनी म एउटा कार्ड बनाइ दिन्छु बाबा! म कामबाट घरमा जाँदा सायद उस्ले एउटा कागजमा केही आफुले जानेर कोरेका चित्र सहित एउटा "गिफ्ट बाबा" भनेर दिने छे किनकी उस्ले तेस्तै गरेकी थि जब आमाको मुख हेर्ने दिने आएको थियो।
कस्तो अचम्म लाग्ने है! सधैं यो बा को मुख हेर्ने दिन आइराख्ने है! म सानो हुँदा नै मेरो बा परलोक हुनु भएको भनेर आमाले भनेको मैले सुनेको थिए! सानैमा! एकदिन म स्कुलमा पढ्ने बेला एकजानाले मलाइ तेरो बा खै भन्यो मैले भने "माछा मार्न गए" मलाई थाहा थिएन किन त्यो भने भनेर! खासमा मेरो आमा र म स्याङ्जाको राम्दी (कालीगण्डकी नदि जहाँ राम्दिघाट छ) पुल तरेर मामा/ठुलिआमा को घर बुटवल जाँदा सधैं रुनुन्थ्यो किनकी बालाइ सतगत गरेको अन्तिम स्थान तेहि थियो! हरेक पटक त्यो पुल काट्दा आमाले पैसाको डबल त्यो गाडीको झ्यालबाट फ्याक्नु हुन्थ्यो र नमस्कार गर्नु हुन्थ्यो! मलाई लाग्थ्यो बा तेतै नदि तिर हुनु होला तेहि भएर कसैले सोधेकि मैले माछा मार्न जानू भयो भन्थे! एकदिन सुशीला मेडमको कानमा परेछ यो कुरा अनि उहाँले भन्नु भयो अब देखि तेस्तो नभन! बा त धेरै नै टाढा आकाशमा जानू भयो! तेस दिन देखि कति आकास हेरियो तर बालाइ कहिले देखिएन!
आमा भन्नू हुन्थ्यो म बा को एकदमै प्रिय थिए! हुन त को हुदैन र प्रीय तै पनि म धेरै पछि लाउथे रे! बा बित्ने बेला २ बर्षको म बा बितेसी आमाले १ घन्टा छोडे पनि आत्तिन्थे रे म! हुन त म जान्ने बेला भएसम्म आमाको पुच्छर नै थिएँ सायद मलाइ डर हुदो हो कि आमाले नि छाड्ने पो हो कि! कतै बा झैँ बिलाउने पो हो कि भन्ने!
काम सकेर घरमा जाँदा अहिले छोरी नदेखे मलाइ आकुल ब्याकुल हुन्छ अनि बुढी भन्छे के हो एकछिन नदेख्दा नि कति सार्हो हो! डे केर गै छे!! सोच्छु म मात्रै तेस्तो त हैन होला सप्पैका बा तेस्तै हुन्छन होला नि है! म सानो हुँदा बालाइ मलाइ जति फुर्सद त हुन्थेन होला तर मलाई खोज्नु हुन्थ्यो होला! बाको त्यो ढाका टोपी (मेरो एउटामात्र फोटो बा सङको मा बाको ढाकाटोपि छ) मैले कति निकाली दिए होला! बाको त्यो हातका रौँ कति उखाले होला अहिले छोरीले मेरो गरे जस्तै!
छोरिले पेप्पा पिग हेर्दा ड्याडि पिगले गरेका कुरा देखेर छोरी ले मैले नि तेहि गरिदियोस भन्ने सोच्छे! म पनि ड्याडी पिग झै उत्तानो परेर हास्छु कहिलेकाही! कस्तो फरक जमना है! झेल्नै पर्यो बा भएसी! सोच्छु हाम्रा बा नि कम थेनन होला! मलाइ काँधमा राखेर चिया पसल जान्थे होला, मलाइ बोक्दै एक सुर्को चुरोट तान्थे होला! मलाइ लिएर बजार जान्थे होला, बिस्कुट किन्दिन्थे होला! खै कस्तो पापी दिमाग केही सम्झना मै आउदैन! दोष कस्लाइ दिउँ? मैले एक पटक आमलाइ सोधेको "आमा मलाई लाग्छ बा बित्नु भा कै थिएन होला, कसैले अस्पताल नै लगेनन होला, नाडी त चेक गरे राम्रो सङ?" आमा मलाइ हर्नु भयो केही बोल्नु भएन! अनि एकछिनमा भन्नू भयो "तलाइ तेस्तो लाग्छ?" म केही बोलिन! अहिले जस्तो फेस्बुक, मोबाईल भाको भए कति फोटा खिच्ने थिए होला बा को! एउटै छ म सङ त! भाइको त त्यो पनि छैन! फोटोसप गरेर आफ्नो टाउको हालेछ मेरो फोटोमा! क्यारोस त्यो बा बितेसी जन्मेको!
अहिले सप्पैका बाका फोटा देख्दा कस्तो रमाइलो पनि लाग्ने तर कुनै अनुभव नै नभएकोमा खिन्न पनि लाग्ने! सायद अब छोरीले पो राख्ली नि मेरो! रमाइलो होला उस्लाइ! अरु जस्तै "फादर्स डे" मनाउली! म जस्तो फोटै नभाको पनि त नहोली! खोजी खोजी राख्ली फेस्बुका!

बा! आज खुब याद आइरहेको छ तर बा शब्दको मात्रै! बा माफ गर्नुस! मैले सम्झिन सक्दिन हजुर्को अनुहार किनकी मलाइ हजुर्को आकृती नै थाहा छैन, दिमागमा छैन! ईष्र्या लाग्ने दाइको दिमागको सानो इमेज कपि गर्न पाए नि हुने नि!

तर जहाँ भए नि खुशी हुनु होला! मानिसको चोला अहिले म नि बा नै भाको छु बा! कोशिस गर्दै छु!


Comments

Popular posts from this blog

एक पटक को नेपाली संधै को नेपाली!

किन खुल्दैन तातोपानी नाका ?

Kevin Rudd: How we staved off recession and the GFC